क्रेडिट सुइसले केन्द्रीय बैंकबाट करिब ५४ अर्ब अमेरिकी डलर ऋण लिने

काठमाडौं । स्वीट्जरल्यान्ड आधारित विश्वभर लगानी गर्ने इन्भेस्टमेन्ट बैंक क्रेडिट सुइसले देशको केन्द्रीय बैंकबाट करिब ५४ अर्ब अमेरिकी डलर ऋण लिने जनाएको छ ।
क्रेडिट सुइसले आफ्नो वित्तीय प्रतिवेदनमा ‘कमजोरी’ फेला पारेको भन्दै यो घोषण गरेपछि बुधबार बैंकको सेयर करिब २४ प्रतिशतले घटेको छ ।
अमेरिकाको १६औँ ठूलो सिलिकन भ्याली बैंकको पतन र अर्काे सिग्नेचर बैंक टाट पल्टिएपछि क्रेडिट सुइसको यो घोषणाले युरोपेली बजार आरालोतर्फ लागेको छ । विश्वव्यापी आर्थिक संकटको डर बढेको छ ।
क्रेडिट सुइसले ऋण लिने कदमलाई ‘बैंक बलियो बनाउने निर्णायक कार्य’ भएको भनेको छ ।
“ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको सरल र केन्द्रित बैंक निर्माण गर्न मेरो टोली र म द्रुत गतिमा अगाडि बढ्न संकल्पित छौँ,” क्रेडिट सुइसका प्रमुख कार्यकारी अधिकृत उलरिच कोर्नरले विज्ञप्तिमार्फत भनेका छन् ।
स्वीस केन्द्रीय बैंकले क्रेडिट सुइसको पुँजी र तरलता पर्याप्त भएकामा जोड दिँदै आवश्यक भएमा बैंकलाई तरलता उपलब्ध गराउन तयार रहेको जनाएको छ ।
क्रेडिट सुइसको सेयर घटेपछि प्रमुख लगानीकर्तामध्येको साउदी नेसनल बैंकले यसमा थप रकम लगानी नगर्ने जनाएको छ ।
आर्थिक उतारचढावको संकेतसँगै बैंक अफ इंग्ल्यान्डले क्रेडिट सुइस र स्वीस अधिकारीहरूसँग सम्पर्क स्थापित गरिसकेको बीबीसीले जनाएको छ ।