देशमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफूमा यस्तो मान्यता रहेको बताउनुभएको हो ।
सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गर्नुभयो । देशमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाइ छ । उहाँले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताउनुभयो ।
सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताउनुभयो । उहाँले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराउनुभयो ।
सभामुख घिमिरेले कानुनको अभावमा देशमा ठगीहरू बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरूलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो । उहाँले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र देशलाई सही बाटोमा अघि बढाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले पत्रकारहरूले त्यहीअनुसार सञ्चारका कामहरू गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानुन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।