नक्कली भुटानी शरणार्थी प्रकरण : खाणलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
आज बुधवार खाणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाण्डौ लगेकोमा अदालतले चार दिन म्याद थपको अनुमति दिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई आज बिहान निवासबाटै पक्राउ गरेको हो ।
यो प्रकरणमा समातिएकाहरूले खाणकी पत्नी मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।