नारायणी नदिमा भेटिएको दुवै शव भारतीयको भएको पुष्टि

भूगाेल संवाददाता
३१ असार २०८१, आईतवार १६:३९

हेटौंडा ।  नारायणी नदिमा फेला परेको दुईवटा शवको सनाखत भएको छ । आइतबार बिहान नारायणी नदि किनारमा भेटिएको शवको सनाखत भएको चितवन प्रहरीले जनाएको छ । गत शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएको दुईवटा बसका यात्रुमध्ये आज भेटिएका दुवै शव भारतीय नागरिकको रहेको पुष्टि भएको हो ।

नवलपुरको गौंडाकोट नगरपालिका ७ गैरी स्थित नारायणी नदिमा फेला परेको शव भारतको बेतिया मझेलिया थाना गुठिया इन्दु घर भएका ३० बर्षको सजाद अन्सारी रहेको पुष्टि भएको छ भने  भरतपुर महानगरपालिका २८ स्थित नारायणी नदी किनारमा फेला परेको अर्को शव भारत बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने बर्ष ३० कै प्रकाश ठाकुर रहेको भनि उनका दाई ओम प्रकाश ठाकुरले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए  ।

उनका अनुसार प्रकाश काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बसमा सवार यात्रु हुन् भने सजाद विरगञ्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसमा सवार यात्रु रहेको पुष्टि भएको हो ।
यो सहित हालसम्म भेटिएका ५ वटै शवको सनाखत भएको छ । यसअघि नै तीनजनाको परिचय खुलेको थियो। जसमा माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको रहेका छन् । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।