आज भोटो जात्रा, तीन जिल्लामा सार्बजनिक बिदा

भूगाेल संवाददाता
२० श्रावण २०८१, आईतवार १२:४०

काठमाडौँ उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । गुठी संस्थानका अनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने छ ।

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ ।यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ ।

करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । सरकारले भोटो देखाउने जात्राको दिन आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्बजनिक बिदा दिएको छ ।