घाइते भएका यात्रुहरुको पहिचान खुल्यो (विवरण सहित)

भूगाेल संवाददाता
२१ श्रावण २०८१, सोमबार ११:१६

हेटौंडा । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी ५ जरेखोलामा माइक्रो बसमाथि रुख बज्रदाँ घाइते भएकाहरुको पहिचान खुलेको छ । पहिरो सहित आएको रुखले लागि माइक्रोमा सवार यात्रुहरुको पहिचान खुलेको हो । धादिङबेसीबाट काठमाडौँका लागि छुटेकोे बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माइक्रो बसमाथि रुख बज्रदाँ घाइते भएकाहरुको पहिचान खुलेको हो ।

माइक्रो बसमा सवार १५ जनामध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जसमा ६ जनाको अवस्था सामान्य रहेको छ भने बाँकी ४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा धादिङको निलकण्ठ नगरपालिका ३ पुछार बजार बस्ने २६ बर्षकी निन्दु शाह (टाउकोमा चोट, अबस्था सामन्य), सोही स्थानमा बर्ष ५० को शिवराज अधिकारी (दाहिने हातमा चोट, अबस्था सामान्य), निलकण्ठ नगरपालिका ३ शान्तबजारकी ३१ बर्षीया सुनिता घिमिरे (शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम), निलकण्ठ ३ कै बिचबजार बस्ने बर्ष ४० को रमेश अधिकारी (दुवै हातमा चोट, अबस्था सामान्य) रहेका छन् ।

यस्तै, सोही स्थानमा १४ बर्षीया डिल बहादुर गुरुङ (टाउकोमा चोट, अवस्था सामान्य), धादिङको खनियाबास गाउँपालिका ४ खट्करीका २६ बर्षीय उर्मिला थापा मगर ( बाँया पाखुरामा चोट, अवस्था मध्यम), रुविम्याली गाउँपालिका १ का ७२ बर्षको निर्माग तामाङ (छातीमा चोट, अवस्था मध्यम), नेत्रावती गाउँपालिका ४ का २२ बर्षीया सञ्जु भुसाल (दुवै हातमा चोट, अवस्था मध्यम), ज्वालामुखी गाउँपालिका ६ बस्ने ३८ बर्षीया निदेश तिमिल्सिना ( दायाँ हातमा चोट, अवस्था सामान्य) र मुगु जिल्ला रारा नगरपालिका ३ का २२ बर्षीया गंगाराम चौलागाईँ (पेट र बायाँ हातमा चोट, अवस्था सामान्य) रहेका छन् ।

घाइतेमध्ये ७२ बर्षको निर्माग तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने बाँकी ९ जनाको गजुरी स्थित अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध राजमार्ग सुचारु भएको छ ।