काठमाडौँ–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु

भूगाेल संवाददाता
२१ श्रावण २०८१, सोमबार १३:४५

काठमाडौँ । निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्ग छिचोलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजगढतर्फ जाने १७२८ मिटर लामो धेद्रे सुरुङ मार्गको सुरुङ ब्रेक थ्रुको घोषणा गरेका हुन् । यो सुरुङ चीनको पोलि छ्याङ्दा कम्पनीले निर्माण गरिरहेको छ ।

मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छ्याङ्दा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ । निजगढबाट काठमाडौँ आउने सुरुङ यसअघि नै ब्रेक थ्रु भइसकेको छ । लेनडाँडाका पनि दुवै सुरुङ ब्रेक थ्रु भइसकेका छन् ।

छ वटा सुरुङ रहेकामा सबैभन्दा लामो महादेवटार सुरुङ ३४६८ र ३४२२ मिटरका जोडी सुरुङ निर्माण भइरहेको छ । फास्ट ट्र्याकमा थप तीन वटा सुरुङ पनि डिजाइनको क्रममा छन् । यो आयोजनाको समष्टिगत प्रगति भने ३५।३८ प्रतिशत पुगेको सेनाले जनाएको छ । प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ ।