हेटौंडामा महिला लागुऔषध दुर्व्यसनीका लागि पुनर्स्थापना गृह खुल्यो

भूगाेल संवाददाता
२५ भाद्र २०८१, मंगलवार १७:२६

हेटौंडा । पछिल्लो समय मकवानपुर लगायत देशैभर लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो छ । केहि समयअगाडि पुरुष प्रयोगकर्ता बढी देखिन्थे भने हाल तुलनात्मक रूपमा महिला प्रयोगकर्ता पनि उत्तिकै बढेको छ ।

यही समस्यालाई नियन्त्रण गर्न हेटौंडा–९, लामसुरेहाईटमा महिला लागुऔषध तथा मादकपदार्थ पुनर्स्थापना गृह सञ्चालनमा ल्याइएको छ । त्यसो त, मकवानपुरमा लागुऔषध दुर्व्यसनीका लागि पुनर्स्थापना सुधारगृहहरु नभएको होइन। तर, मकवानपुरमा यसअघि महिला प्रयोगकर्ता लक्षित सुधारगृह थिएन । त्यस्तो सुधारगृह नहुँदा मकवानपुरका महिला प्रयोगकर्तालाई अन्यत्र पठाउनु पर्ने वा जानु पर्ने समस्या माथिको समस्या थियो। अब त्यस्तो समस्या हुने छैन। कारण, मकवानपुरमा पनि पहिलो पटक महिला सुधारगृह सञ्चालनमा ल्याइएको छ।

पुरुष प्रयोगकर्ता बढेर पुरुष पुनर्स्थापना गरिरहेको अवस्थामा महिला प्रयोगकर्ताको विकराल समस्या सृजना हुन नदिन महिला पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याइएको संयोजक तान्या अग्रवालले बताइन् । मकवानपुरमा यस विषयमा महिला विज्ञता कम रहेकोले चुनौती पनि रहेको अवस्थामा हामीले युवतीहरुको सकारात्मक जीवनका लागि अवसर सिर्जना गर्ने उद्धेश्य राखेका छौुं, उनले भनिन् ।

उनका अनुसार एक साता अघि मात्रै सञ्चालनमा आएको महिला पुनर्स्थापना केन्द्रमा २ जना लागुऔषध पूर्व प्रयोगकर्ता छन् । उनका अनुसार महिला प्रयोगकर्ताको हेरचाहका लागि महिलालाई महिला नै आवश्यक पर्ने भएकाले २ महिला परामर्शदाता, १ महिला चिकित्सक छन्। सरकारी मापदण्ड अनुसार केन्द्र व्यवस्थापन, सञ्चालन प्रमुख प्राथमिकता रहेको र त्यसअनुरुप व्यवस्थापन तथा विभिन्न निकायसंग समन्वय गरिरहेको उनले बताइन् ।

उक्त सुधारगृहमा तत्काल १५ जना राख्न सकिने र ३० जना राख्न सकिने गरि सुधारगृहको क्षमता बढाइने बताइएको छ । विशेषतः मनोपरामर्श, हेरचाह, योग, ध्यान, आध्यत्मिक जागरण, खेलकुद, परिवारको महत्व र सामाजिकीकरण युक्त बनाउन  दैनिक कक्षाहरु व्यवस्था गरिने बताइएको छ। निकट भविष्यमा यसलाई थप व्यवस्थित गर्दै उपचारको पहुँच र अन्य आवस्यक सुविधा सम्पन्न सुधारगृहको रुपमा स्थापित गर्ने योजना रहेको उनले बताइन् ।

मकवानपुर आसपास चितवन र काठमाडौंमा महिला सुधारगृह रहेको हुँदा आफ्नै जिल्लामा महिलालाई व्यवस्थित वातावरण दिने लक्ष्य रहेको उनको भनाई छ । गृह मन्त्रालयको २०७६ सालको सर्वेक्षण अनुसार वागमती प्रदेशमा महिला प्रयोगकर्ताको संख्या ५ हजार ६ सय २५ जना रहेकोमध्ये सबभन्दा बढी काठमाडौं र मकवानपुरमा रहेको तथ्यांक सुरक्षित जीवन नामक गृह मन्त्रालयको वार्षिक पुस्तिकामा रहेको उनी बताउँछिन्।

यस बर्ष नेपाल सरकार गृह मन्त्रालयको ‘लागुऔषध दुरुपयोगविरुद्ध लडौं, रोकथाममा जोड दिऔं’ नारा भएपनि प्रदेश र स्थानीय तहबाट नाराअनुरुप रोकथाममा लगानी प्रभावकारीरुपले नगरेको हुँदा  समस्या घट्नुको साटो वार्षिक ५.०४ प्रतिशतले वृद्धि भइरहेको उनी दाबी गर्छिन्। सोही स्थानमा सिआन पुनर्स्थापना केन्द्रले २०७३ सालदेखि लागुऔषध तथा मादकपदार्थ पुनर्स्थापना, क्षति न्यूनीकरण, सचेतना, उपचार, परामर्श र गुणस्तरीय चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ अनुसार नेपालमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको तथ्यांक छ। यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच  सय ३४ जना लागुऔषध प्रयोगकर्ता थिए भने प्रतिवेदनअनुसार लागुऔषध प्रयोगकर्ताको संख्यामा वार्षिकरुपमा वृद्धि भएको देखिन्छ ।