मकवानपुरमा श्रीमानलाई बाँधेर २ महिनाकी सुत्केरीमाथि बलात्कार

भूगाेल संवाददाता
२५ भाद्र २०८२, बुधबार १६:५१

हेटौंडा ।२५ भाद्र २०८२, बुधबार मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । राक्सिराङ गाउँपालिकाका अनुसार २७ भदौ शुक्रबार बेलुका राक्सिराङ गाउँपालिका–१ इन्द्रुङमा करिब २४ वर्षीया महिलामाथि बलात्कार भएको हो ।आर्थिक अवस्था कमजोर भएको परिवारकी उनलाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । ‘आफूमाथि बलात्कार गरेको भनेर पीडित महिलाले हामीलाई भनेकी हुन’, अध्यक्ष मल्लले भने । प्रष्टसँग बोल्नसमेत नसक्ने उनका श्रीमानलाई बाँधेर श्रीमतीलाई बलात्कार गरेको अध्यक्ष मल्लले बताए । पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी महिलासहित परिवार प्लास्टिकले ओत लगाइएको छाप्रोमा बस्दै आएको छ । आर्थिक अभावले खानेकुरासमेत नभएकोले सुत्केरी हुँदा गाउँपालिकाले आर्थिकसहित पौष्टिक आहार सहयोग पनि गरेको थियो ।

गाउँपालिकाले पीडित परिवारलाई आज बिहान हेटौंडास्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको छ । पीडित महिलाको महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श भइरहेको अध्यक्ष मल्लले बताए । घटनापछि स्थानीय प्रहरीलाई खबर गर्दा प्रहरी पनि घटनास्थल जान डराएको उनले बताए । ‘पीडितको घर जंगलको एकान्तमा छ । तर, पनि गाउँमा अशान्त थिएन । प्रहरी जान डरायो । त्यसपछि हामीले नै उहाँहरूलाई हेटौंडा लगेका छौं’, उनले भने ।