बागमती प्रदेशको संसदीय दलको नेता छान्न माओवादीले छलफललाई तिब्रता दिदैं , भोलीसम्म दलको नेता चयन गर्ने

रुपा गुरुङ
१५ पुष २०७९, शुक्रबार १२:२३

 

हेटौंडा । नेकपा माओवादी केन्द्रले बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न छलफललाई तिब्रता दिइरहेको छ । दलको नेता चयन गर्न प्रदेश कमिटिले दिउँसो १ बजेलाई बैठक बोलाएको छ । बैठक काठमाण्डौंमा बस्नेछ ।

 

विहान १० बजे बैठक डाँकिएपनि विविध कारणले गर्दा दिउँसो १ बजेलाई बैठक सारिएको माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी(छिन्तु) ले जानकारी दिए । उनका अनुसार भोली बेलुकासम्म संसदीय दलको नेता चयन हुनेछ ।

 

संसदीय दलको नेतामा माओवादी प्रदेश अध्यक्ष सरल सहयात्री, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल र प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल आकांक्षी रहेका छन् । दुलाल र पौडेल दुबै सिन्धुपाल्चोकबाट हुन् ।

 

मंसिर ४ गते भएको प्रदेश निर्वाचनबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ (ख) बाट पौडेल र २ (क) बाट युवराज दुलाल र धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यमा बिजयी भएका हुन् ।

 

उपाध्यक्ष पुलामीले सकेसम्म सर्वसम्मत रुपमै दलको नेता चयन गर्ने बताए । त्यसका लागि छलफललाई बृहत बनाइएको उनको भनाई छ ।

 

संविधानको धारा १६८ को उपधारा १ मा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । तर बहुमत नपुगेको खण्डमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री चयन गरिने व्यवस्था रहेको छ । केन्द्रिय सरकारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता समिकरणबाट प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भइसकेका छन् । सोही बमोजिम प्रदेशमा समेत एमाले र माओवादीबीचको गठबन्धनबाट मुख्यमन्त्री चयन हुनेछन् ।

 

संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने व्यवस्थाका कारण अहिले राजनीतिक दलहरुले आ–आफ्नो संसदीय दलको नेता चयन गरिरहेका छन् । माओवादीले पनि बागमती प्रदेशको संसदीय दलको नेता शनिबार(भोली) सम्ममा चयन गरिसक्ने बताएको छ ।

 

प्रदेशसभा सचिवालयले बिहिवार निर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको शपथ खुवाएसंगै पुष १८ गतेका लागि प्रदेशसभाको पहिलो अधिवेशन डाँकिएको छ । दलहरुले आगामी माघ १ गतेभित्र प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

बागमती प्रदेशमा ११० सांसद निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट ३७ जना, नेकपा एमालेबाट २७, नेकपा माओवादी केन्द्रबाट २१, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १३, नेकपा एकिकृत (समाजवादी) बाट ७ ,नेपाल मजदुर किसान पार्टीबाट ३ र हाम्रो नेपाल पार्टीबाट २ जना प्रदेशसभामा निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*