कालोपट्टी बाँधेर संसद्का कर्मचारीले घेरे महासचिवको कार्यालय (फोटो फिचर)

भूगाेल संवाददाता
५ असार २०८१, मंगलवार १२:४१

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरूले संसद्का महासचिवको कार्यकक्ष घेराउ गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित महासचिव पद्म प्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्न माग गरेका हुन् । संसद्‍मा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरे बापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग गर्दै उनीहरूले धर्ना दिएका हुन् । बिहान १० बजेदेखि बिहान ११ बजेसम्म धर्ना दिइएको संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले रातोपाटीलाई जानकारी दिए । संसद्का कर्मचारीहरूले गत जेठ २९ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । माग पूरा गर्न १ हप्ते अल्टिमेटम दिएका उनीहरूले माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेका छन् । कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर संसद्मा काम गरिरहेका छन् । माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने कर्मचारी युनियनका अध्यक्ष बेल्बासेले जानकारी दिएका छन् । प्रतिनिधि सभाको बैठक सुरु भएपछि कर्मचारीहरू धर्ना छोडेर नियमित काममा फर्किएका छन् ।