विदेश जान हिंडेका ६ युवाले हेटौंडामा ३ करोड लगानीमा कृषि बजार सञ्चालन गर्दै

भूगाेल संवाददाता
२४ बैशाख २०८०, आईतवार १३:४४

 

हेटौंडा । मकवानपुरमा हेटौंडा कृषि बजार सञ्चालनमा आउने भएको छ । त्रिवेणी भेजिटेबल मार्ट प्रालिद्धारा सञ्चालन हुन लागेको हेटौंडा कृषि बजारको अहिले धमाधम संरचना बनाउने कार्य चलिरहेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा ७ कठ्ठा जमिन भाडामा लिएर कृषि बजार सञ्चालनमा ल्याउन लागिएको सञ्चालक समिति सदस्य प्रिन्स बलले जानकारी दिए । ६ जना युवा मिलेर ३ करोड लगानीमा कृषि बजार सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।

हेटौंडाको अव्यवस्थित तरकारी बजारको सही व्यवस्थापन गराउन र हरित नगरी, सफा नगरी बनाउने उपमहानगरको योजनालाई सहयोग पु¥याउने उद्धेश्यले कृषि बजारको अवधारणा बनेको अर्का सञ्चालक सदस्य राजीव गोलेले बताए । बिदेश जान लागेका हामी युवाहरु मिलेर यही स्वदेशमा केही गर्न सकिन्छ भनेर यो योजना बनाइएको हो- गोलेले भने।

यसअघि, ६ जनाको टिमले चितवनको तरकारी बजार र काठमण्डौंको बल्खु तरकारी बजारको बारेमा अध्ययन गरेका थिए । १७५ वटा स्टलहरु बन्ने र १० फिटको बाटो तथा आकर्षक पार्किङको व्यवस्था पनि गरिएको उनले जानकारी दिए। स्टल बुकिङका लागि व्यापारीलाई आव्हान गर्दै सञ्चालक बलले एउटा स्टलको ६ देखि ८ हजारसम्म सहुलियत दरमा भाडा तोकिएको बताए।

बैशाख ५ गतेबाट संरचना बनाउन सुरु गरेको र जेठ मसान्तसम्म संरचना बनाइसक्ने सञ्चालकहरुको योजना छ । असारको पहिलो हप्ता उद्घाटन गरेर हेटौंडा कृषि बजार सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

 

निर्माणाधिन हेटौंडा कृषि बजार