बागमती प्रदेशका पर्यटकीय तथा धार्मिक क्षेत्रहरु
मकवानपुर । बागमती प्रदेश नेपालको मध्यभागमा अवस्थित छ । जहाँ संघिय राजधानी पनि रहेको छ । यस प्रदेश धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको छ । बर्षेनी हजारौं पर्यटकहरु घुम्न तथा मन्दिर दर्शन गर्न यहाँ आउने गरेका छन् । बागमती प्रदेशको राजधानी हरित नगरी हेटौंडामा अवस्थित छ । देशको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल पनि यहाँ रहेकाले बर्षेनी हजारौं आन्तरिक तथा बाह्रय पर्यटकको आगमन हुने गरेको छ ।
यस प्रदेशको क्षेत्रफल २० हजार ३ सय वर्ग किमि छ । जुन कुल भू–भागको १३.७९ प्रतिशत जमिन हुन्छ । यस प्रदेशमा राजधानीसमेत भएको हुँदा धेरै हिसाबले यो प्रदेश सम्पन्न देखिन्छ । जनसंख्याका हिसाबले पनि यो प्रदेश अगाडि छ । यहाँको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ छ । सडकका हिसाबले पनि यो प्रदेश अन्य प्रदेशभन्दा सम्पन्न छ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रसमेत रहेको बागमती प्रदेशमा चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्ला रहेका छन् । यो प्रदेशको मुख्य पर्यटकीय स्थलका रुपमा काठमाडौं, भक्तपुर तथा ललितपुरका ऐतिहासिक धरोहरहरू पर्यटकको आकर्षक गन्तव्यको रूपमा रहेका छन् । त्यसैगरी गौरीशंकर हिमालदेखि चितवन राष्ट्रिय निकुञ्जसमेत यो प्रदेशमा रहेका छन् ।
बामगती प्रदेशको राजधानी अवस्थित रहेको मकवानपुर जिल्लाको प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र के – के छन् ? यस जिल्लाबाट सुरुवात गरौं
मकवानपुर
पर्यटकीय हिसाबले मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरू उल्लेख्य रूपमा छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र भूटनदेवी, भुवनेश्वर महादेव, पुण्य क्षेत्र रहेका छन् । यस जिल्लामा चुरियामाई मन्दिर, त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन् । त्यसैगरी दामनमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराहीमा बज्रबाराही, नामटारमा स्यार्सेकालिका, चित्लाङ्गमा शिवालय,हेटौंडा–९,चौधघरेमा शीर्षक लिंङ्करहेको कुष्माण्ड सरोबर त्रिवेणीधाम (मुक्तीनाथ पछिको १०८ धारा रहेको नेपालकै एक प्रसिद्ध धार्मिक एंव पर्यटकिय स्थल) साथै चिसापानी गढिमा बटुक भैरवको प्रसिद्ध मन्दिर छ भने पाथिभारा मन्दिर, सिस महल पनि रहेको छ । यसका अलावा दामनको भ्यूटार, सिमभज्याङ, सहीद स्मारक, गुम्बाडांडा लगायत पर्यटकिय विभिन्न पर्यटकिय क्षेत्रहरु रहेका छन् । यहाँ तामाङ बाहुल्य क्षेत्रमा गुम्बा बौद्ध घ्याङ आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरू रहेका छन् ।
जिल्लाको मकवानपुरगढी गाउँपालिकामा अवस्थित मकवानपुरगढी दरबार ऐतिहासिक, पर्यटकीय र धार्मिक दृष्टिले महत्वपूर्ण रुपमा रहेको छ । सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ। ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको यो गढी आजको मकवानुपर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा पर्छ । यसै गाउँपालिकामा मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ । जहाँ हरेक वर्ष सयौं पर्यटनहरु पुग्ने गरेका छन् ।
चितवन
चितवन जिल्लाका प्रमुख पर्यटकीय स्थलहरु चितवन राष्ट्रिय निकुञ्ज, देवघाट क्षेत्र ऐतिहासिक उपरदाङगढी हन् । पछिल्लो समय लामो झरना र जिल्लाकै सबैभन्दा अग्लो स्थान सिराइचुली पर्यटकिय क्षेत्रको रुपमा तिब्ररुपमा बिकसित हुँदै गइरहेका छन् । यसका अलवा विश्वबाट लोप हुने अवस्थामा पुगेका दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघलगायत अनेकौं जंगली जनावर, जलचर, चरा र वनस्पतिहरूसँग सजिलै साक्षात्कार हुन सक्ने अवसर यहाँ देख्न सकिन्छ ।
नेपालको पहिलो राष्ट्रिय निकुञ्जमा रुपमा चितवन राष्ट्रिय निकुञ्जलाई लिइने गरिन्छ । यसको स्थापना वि.सं. २०३० सालमा भएको हो । यसको कुल क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर रहेको छ भने २०५३ सालमा मध्य क्षेत्र स्थापना भएको हो । यहाँ विश्वमै दूर्लभ मानिएको एक सिंगे गैंडा पाइने गर्दछ । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको छ ।
यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।
सिन्धुली
पर्यटकीय दृष्टिकोणबाट अत्यन्त सुन्दर सिन्धुली जिल्लाको धार्मिक एवम् ऐतिहासिक महत्व पनि उच्च छ । कुशेश्वर महादेव, सिद्धबाबा, कालिकामाई तथा कमलामाई यहाँका मुख्य मन्दिर हुन् । नगरपालिका हुँदै बग्ने कमला नदी देशभर प्रसिद्ध छ । नगरपालिकास्थित रानीचुरी डाँडो जिल्लाकै ऐतिहासिक पर्यटकीय स्थल हो ।
यस जिल्लाको प्रमुख ऐतिहासिक एवं पर्यटकीय स्थलको रुपमा सिन्धुलीगढी दरबारलाई लिइन्छ । नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को संख्यामा सेना काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग नेपाली फौजले घमासान युद्ध गरी बिजयी हासिल गरेको ऐतिहासिक स्थल हो सिन्धुलीगढी । सिन्धुलीगढीको क्षेत्रफल ३००० वर्र्गिगमटरमा फैलिएको छ । यो ठाँउ काठमाडौंबाट करीव १५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाईमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ ।
रामेछाप
पर्यटन रामेछापका लागि राम्रो अवसर हो । तर, साधन र श्रोतको उचित परिचालन हुन नसक्दा पर्यटनका क्षेत्रमा रामेछाप त्यति परिचित हुन सकेको छैन । विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश रामेछाप क्रस गरेपछि मात्र हुन्छ । लिखु, सुनकोसी, खिम्ती, तामाकोसीजस्ता नदीहरूमा ¥याफ्टिङ्ग सञ्चालन, ६९५८ मिटर अग्लो नुम्बुर हिमश्रृङ्खला, ३१०६ मिटर अग्लो तामेजस्ता क्षेत्र, पाँचपोखरी, जटापोखरी जस्ता क्षेत्र पर्यटकीय स्थलहरु हुन् ।
जटापोखरी रामेछाप र दोलखा जिल्लाको सिमानामा अवस्थित छ । यो समुद्री सतहबाट ४२०० मिटरको उचाईमा पर्दछ । जटापोखरीको समष्टिगतरुप पाँच पोखरी हो । जटा पोखरीको नाम बैरा महादेबको जटाबाट नामाकरण भएको हो भन्ने किम्बदन्ती रहेको छ । जटा पोखरीमा हरेक वर्ष मेला लाग्ने गर्दछ । मेलामा ठूलो स्वरले महादेबसित मन खोलेर आफुलाई आबश्यक परेको इच्छा पूरा गर्योस भनी माग गरिन्छ । यसो गर्नुका कारण महादेव बहिरा भएको किम्बदन्ती छ ।
दोलखा
दोलखा नेपालको पर्यटकिय नगरि मध्येकै एक पर्यटकीय जिल्ला हो । करिब ३९ सय मिटर उचाईमा रहेको कालिञ्चोक भगवति माईको मन्दिर, दोलखा भिमसेनको मन्दिर तथा गौरिशंकर हिमाल यस क्षेत्रको पर्यटकीय स्थल हुन् ।
कालिञ्चोक भगवतीको मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा प्रसिद्ध छ । सदरमुकाम चरिकोटबाट करिव १७ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर समुन्द्री सतहबाट ३८४२ मिटर को उचाईमा रहेको छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ ।
नुवाकोट
नुवाकोट जिल्लामा ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा नुवाकोट दरबारलाई लिइन्छ ।
नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहले वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाएपनि पछि नब्बे सालको महाभूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो । उत्तर–दक्षिण तेर्सिएको नुवाकोट दरबारको उचाइ ७५ फिट, लम्बाई ५० फिट र चौडाइ करिब ३९ फिट रहेको छ । धातुको छाना भएको यो दरबारका अरु सामग्री तेलिया इँटा र काठमा शूक्ष्म र विस्तृत कलात्मक शैलीमा कुँदिएको छ । झ्याल, ढोका, थाम, निदाल, दलिन, टुँडाल आदि काठबाट बनेका छन् । काष्ठकलामा भएको मार्मिकताले दरबारको सुन्दरतालाई मात्र बढाएको छैन, पुरातत्वको एउटा अनुपम उदाहरण पनि बनेको छ ।
यस जिल्लामा तादी र त्रिशुली नदीको संगम देविघाट , प्रशिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग रहेको नुवाकोट जिल्ला मल्लकालीन समयमा पश्चिम नेपालको मूल ढोका, नेपाल भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मुलद्वार पनि रहेको थियो ।
बेलकोट, मालाकोट, धुवाकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट, प्यासकोट जस्ता नौ वटा कोट वा किल्लाहरुको संगम भूमिको रुपमा परिचित नुवाकोटलाई गोपालवंश देखिनै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट क्रमशः परिमार्जन हुदै हालको नुवाकोट नामाकरण भएको हो । यसबाहेक यहाँ विभिन्न हिमालहरुको मनमोहक दृश्यले पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।
धादिङ
उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा सिद्धलेक, गुप्तेश्वरीगुफा, गंगा जमुना, त्रिपूरा सुन्दरी मन्दिर, मण्डली माई खर्के डाँडा, मण्डली माई, ज्वालामुखी, चमेरे गुफा, यस लगायत रहेका छन् ।
भैरवी मन्दिर धादिङ जिल्लाको एक प्रसिद्द मन्दिर हो । धादिङबेंसीबाट करिव १८ किलोमिटर दूरीमा रहेको उक्त मन्दिर धादिङको पुरानो सदरमुकाम नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा अवस्थित छ ।
जिल्लाकै ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिर राजा रामशाहको पाला अघि नै शक्तिपिठको रुपमा परिचित छ । यस बाहेक धादिङ जिल्लामा खड्का देवी मन्दिर मैदी, तातोपानी मूल झार्लाङ, भैरवी मन्दिर सुनौलाबजार, खाल्टेको बाहुन बाजा, सलाङको मगर नाच पर्यटकलाई लोभ्याउने कला संस्कृतिले भरिपूर्ण छ ।
रसुवा
चिनीयाँ पर्यटकहरुको प्रमुख आगमन हुने जिल्लामा रुपमा रसुवा परिचित छ । यहाँ बाट चीन सँग नाका जोडिएकाले यस क्षेत्रको महत्व झनै बढेको छ । तामाङ जाति र वौद्ध धर्मको प्रधानता रहेको यस जिल्लामा धार्मिक स्थलको रूपमा धेरैजसो स्थानहरूमा गुम्वाहरू निर्माण गरिएको पाइन्छ । गोसाँइकुण्ड, कालिका माइको मन्दिर, उत्तरगया आदि यहाँका प्रशिद्ध तिर्थस्थलहरू हुन ।
नुवाकोट जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि पर्यटकको मनलाई लोभ्याउछ । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ । जल्लाको उत्तरी क्षेत्रमा अवस्थित हिमाली शृङ्खला आन्तरिक तथा वाह्य पर्यटनको दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थान मानिन्छ। गोसाँइकुण्ड, क्यान्जिन भ्याली, सूर्य कुण्ड, पार्वतिकुण्ड, तातोपानी घोडातवेला, लाङटाङ चन्दनवारी, धुन्चे, स्याप्रु आदि मुख्य पर्यटकीय क्षेत्रहरू हुन् ।
काभ्रे
काभ्रे जिल्लाको पर्यटकीय रुपमा गगनचुम्बी हिमालहरूमध्ये मनास्लू, लमजुङ्ग, गणेश हिमाल, गौरीशंकर हिमाल, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरू देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरूले मात्र साधारणतया देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाँडाबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ ।
काभ्रे जिल्लाको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पलाञ्चोक भगवतीको मन्दिर पनि एक हो । पाँचखाल न.पा.–९ ( साविक साठिघर गा.वि.स) मा अवस्थित यस पलाञ्चोक भगवतीको मन्दिर नेपालका शक्ति पिठहरू मध्येकै प्रमुखको रूपमा रहेको छ । यो मन्दिर बि. सं. ५६० तिर राजा मानदेवको पालामा पलाञ्चोकका सामन्तका पत्नी विजयस्वामिनी भन्नेले निर्माण गरेकी हुन् । यो मन्दिर तात्कालिन अवस्थामा बच्चाकोट (हाल नमोबुद्ध न.पा.) मा रहेको थियो । त्यहाँका केही व्यक्तिहरूले राति सपनामा भगवतीले मलाई बोकी उत्तरतिर लैजानु भन्ने देखेपछि भगवतीको मूर्तीलाई बोकी सोही अनुरूप उत्तर तर्फ लगेका हुन् । हालको पलाञ्चोक डाँडामा पुगेपश्चात रात परेपछि टोली त्यहि बास बसेका थिए । भोलीपल्ट बोक्न खोज्दा उचाल्न नसके पश्चात त्यो मूर्ती त्यही छोडेको उल्लेख छ । हाल पनि बच्चाकोटबाट पलाञ्चोकको मन्दिरमा वर्षेनी पुजाको डोला लैजाने चलन रही आएको छ।
सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले राष्ट्रको उत्कृष्ट जिल्लाहरुको दांजोमा आउँदछ । यस जिल्लाको प्रमुख प्राकृतिक सम्पदाहरुमा जलस्रोत, जङ्गल, र हिमाली टाकुराहरु हुन् । भोटेकोशी, सुनकोशी, ईन्द्रावति, ब्रम्हायणि र मेलम्ची जस्ता प्रमुख नदीहरु तथा पांचपोखरी, भैरवकुण्ड र सुर्यकुण्ड नामक तीन प्रसिद्ध कुण्ड र संधैभरी तातोपानि आईरहने तातोपानी धारा, बञ्जीजम्प स्थल ,हेलम्बु तथा जिल्लाको उत्तरी भागमा १,१५,००० हेक्टर क्षेत्रफल ओगटेको लाम्टाङ बन्यजन्तु आरक्ष, उत्तरी भागमा ६,५३५ मिटर उचाईको जुगल हिमाल र अन्य हिमाल पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् । छन् भने ईन्द्रावति नदीको फांट, जलबिरे खोलाको फांट र सुनकोशी नदीको वरीपरी जस्ता सुबिख्यात पर्यटकिय स्थलहरु हुन ।
यस जिल्लाको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा पाँच पोखरी प्रसिद्ध छ । पाँचपोखरी इन्द्रावती नदीको उदगम् स्थल हो । जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिकामा अवस्थित समुद्री सतहबाट करीव ४०६० मिटरमा उचाइमा अवस्थित पाँचपोखरी ताल हिन्दुहरुको तीर्थस्थलका रुपमा पनि परिचित रहेको छ । प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा मेला लाग्ने गर्दछ । पाँचपोखरीमा भगवान् शिवको मन्दिर छ ।
पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दुध लिएर भक्तजनहरु चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजनहरु खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाहरूले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको रहेछ । इन्द्रावती र ब्रह्मायणी नदीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम समेत छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड । यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।
भक्तपुर
भक्तपुर जिल्ला पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । यस जिल्लामा भक्तपुर दरबार क्षेत्र, नगरकोट, चाँगुनारायण मन्दिर, सूर्य्विवनायक मन्दिर, ठिमी भक्तपुर दरवार क्षेत्रको पानोरोमिक दृष्य पर्यटकीय क्षेत्र हुन ।
नेपालको ऐतिहासिक धार्मिक पर्यटकिय क्षेत्रको रुपमा भक्तपुर दरबार रहिआएको छ । विश्वसम्पदा सूचिमा समावेश यस दरबार मल्लकालीन राजाहरुको शासनको एक मुख्य केन्द्रको रु पमा रहेको छ । यो क्षेत्र प्राचीन वास्तुकलाका पारखीहरुका लागि मनमोहक ठाउँ भएकोमा दुइमत छैन । अनेकौं धार्मिक, साँस्कृतिक , ऐतिहासिक विशेषताले सुुसज्जित यस सुन्दर नगरी हाल खुल्ला संग्रहालयको रुपमा रहेको छ ।
पचपन्न झ्याले दरबार, भगवती मन्दिर, तलुजा भवानी मन्दिर, भूपतिन्द्र मल्लको सालिक, सुनको ढोका, बाघको प्रतिमा सहितको ढोका लगायतका विविध प्राचीन धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक हिसाबले अत्यन्त महत्वपूर्ण तथा आश्चर्यपूर्ण कला कृतिहरुको विशाल भण्डार भक्तपुर दरबार क्षेत्र हिन्दू धर्मसंस्कृतिको खुल्ला संग्रहालय पनि हो भन्न सकिन्छ ।
यसका अलवा भुपतिन्द्र मल्लको सालिक, सुनको ढोका, ठूलो घण्टा, च्यासिङ देगल, न्यातापोल मन्दिर, पचपन्नझ्याले दरवार, च्यासिङ देगल, भैरवनाथ मन्दिर पनि पर्यटकीय क्षेत्र हुन् ।
ललितपुर
ललितपुर पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा रहेको छ । भौगोलिक तथा जैविक विविधता, सांस्कृतिक र कलामा धनी यो जिल्ला अन्तराष्ट्रियरुपमा समेत पर्यटकीय स्थलको रुपमा परिचित छ । गोदावरीको फुलचोकी, देवीचौरको सुन्तोलीडाँडा र देउराली, भट्टेडाँडाको सातकन्या, बुखेलको बिमिरे, महाभारतीय रेञ्जको रमिते र गुफाडाँडा, इकुडोलको माझखण्ड, चन्दनपुरको ससिपाभञ्ज्याङ, नल्लुडाँडा, डुकुछापको कटवालदह र लामाटारको लाँकुरीभञ्ज्याङ आदि पर्यटकीय ठाउँ हुन् ।
ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकिय क्षेत्रको रुपमा फुलचोकी प्रमुख हो । समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको फुलचोकी काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो ठाउँ काठमाडौंदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका गगनचुम्बी हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
त्यहाँको अर्को आकर्षण वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् । फूलचोकीमा हिउँदको समय हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु जाने गरेका छन् । त्यहाँ फूलचोकी माईको मन्दिर पनि छ ।
काठमाडौं
नेपालको केन्द्रीय राजधानी रहेको काठमाडौंले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वले भरिपूर्ण छ । विश्वभरको आस्थाको केन्द्रको रुपमा रहेको पशुपति मन्दिर यहि जिल्लामा अवस्थित छ ।
पशुपति मन्दिर काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा अवस्थित छ । बागमती नदीको किनारमा रहेको छ । यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ । पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ । काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ ।
यो मन्दिर यस संसारमा रहेका २७५ शिवको पवित्र स्थान मध्यकोे एक हो । पशुपतिनाथमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्वका साथ मनाइन्छ । यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँको सबै विशेषताहरू प्यागोडा शैलीमा रहेको पाइन्छ जुन अति सुन्दर खुदी काठको छन् । यस मन्दिरको दुई स्तर छाना सुन पहिरन सँगै तामाको रहेको छ । यस मन्दिरमा रहेको चार मुख्य ढोकाहरू चाँदीको रहेको छ । यस मन्दिरमा रहेको सुनको गजुरले यहाँको धार्मिक विचारको प्रतीकलाई दर्साउँछ । काठमाडौंमा यसका अलावा कीर्तिपुर रहेका मन्दिरहरु, स्वयभ्भू, बौद्ध स्तुपा लगायत विभिन्न शक्ति पिठहरु आदि रहेका छन् ।