गौरीटारबाट जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गौरीटार रंगशालाको नजिक रहेको गाईगोठभित्र जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार दिउँसो करिब १:४५ बजे गौरीटारस्थित दामोदर चौलागाईको गाईगोठमा छापा मारेको थियो। उक्त गाईगोठभित्र काठको खाटमा खाल राखेर पैसाको हारजित हुने गरी तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिकाकै ४५ वर्षीय दामोदर चौलागाई, २९ वर्षीय विश्व स्याङ्तान, २९ वर्षीय सुदीप पोख्रेल, २९ वर्षीय प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङ रहेका छन्। प्रहरीले घटनास्थलबाट ७ बुक तास, नगद रु. ८१ हजार ३ सय ९० र गोटी सहितको काठको लुडो समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई जुवा सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।