राप्तीरोडमा व्यापारीमाथि आक्रमण गर्ने, मुख्य अभियुक्त पक्राउ

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित राप्तीरोडमा रहेको ‘दास इम्पोरियम’ कपडा पसलमा कपडा खरिद गर्ने क्रममा भएको विवादमा टाउकोमा काठको बेलन प्रहार गरी गम्भीर घाइते बनाएका एकजना पक्राउ परेका छन्। घटनामा संलग्न मुख्य अभियुक्त हेटौंडा उपमहानगरपालिका वडा नं. १२ पदमपोखरी निवासी ३५ वर्षीय विजय थिङलाई प्रहरीले पक्राउ गरेको छ। थिङले कपडा पसलका सञ्चालक ६१ वर्षीय बिन्दल दासको टाउकोमा काठको बेलना प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको सुरूवात कपडाको मूल्यको विषयमा भएको थियो। कपडा खरिद गर्न आएका थिङ सहित केही व्यक्तिहरूले पसल सञ्चालकसँग अभद्र व्यवहार गर्दै विवाद सुरु गरेका थिए। विवाद चर्किएपछि उनीहरूले काठको बेलना प्रहार गरी पसल सञ्चालकलाई घाइते बनाएको प्रहरिले जनाएको छ। घाइते दासको हाल उपचार भइरहेको छ भने घटनापछि फरार अन्य संलग्न व्यक्तिहरुको पहिचान गरी खोजी कार्य तीव्र पारिएको मकवानपुर प्रहरी कार्यालयले जानकारी दिएको छ। पक्राउ परेका थिङलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ।