दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण

भूगाेल संवाददाता
६ असार २०८१, बुधबार १२:५१

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले काठमाडौंमा आन्दोलन गर्ने भनेर आएका किसानहरूलाई प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गरे । ‘दूध किसानले आजदेखि काठमाडौंमा आन्दोलन गर्न खोज्दै हुनुहुन्थ्यो । अनुमति लिएर धर्ना गर्दै हुनुहुनथ्यो । तर, प्रहरीहरुले धरपकड गरे । ४५ भन्दा बढी किसानलाई नियन्त्रणमा लिएर कालीमाटीमा राखिएको छ । उहाँहरूमाथि मर्यादित व्यवहार भएन भन्ने छ,’ बर्तौलाले भने । आन्दोलनरत किसानसँग वार्ता गर्न र अविलम्ब किसानहरूको भुक्तानीका लागि उनले सरकारको ध्यानाकर्षण गरे । ६ लाख किसानको पाँचदेखि ६ अर्ब भुक्तानी बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारको, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु । दूध किसानको भुत्तानी गरियोस्,’ उनले भने ।