अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न सकिदैंन : झलनाथ खनाल

सुर्खेत। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताएका छन् । नेता खनालले वामपन्थीहरू एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बताएका हुन् ।
आइतबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले भने, ‘देश जुन तरिकाले अघि बढिरहेको छ, गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन । अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन। अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ। तर वामपन्थीहरूमा अर्कै रूप देखिन्छ ।’
उनले वामपन्थीहरुको बीचमा एकता हुन आवश्यक रहेको बताए । ‘तर उनीहरू भित्रै दक्षिणपन्थी छन् । त्यसैले नेकपा एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको छ,’ खनालले भने ।
राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने उनले बताए ।