छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु

नयाँ दिल्ली। भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । यो दुर्घटना आइतबार राति भएको हो । दुर्घटनामा मृत्यु हुने सबै बच्चाको छठी (बच्चा जन्मिएको छैटौँ दिन मनाइने उत्सव)मा सहभागी भएर फर्किरहेका थिए । ‘खरोराको बाना गाउँमा पारिवारिक समारोहबाट मानिसहरू फर्किरहेका थिए । मृतकहरू सवार गाडी ठुलो ट्रेलरसँग ठोक्कियो । अहिलेसम्म १३ जनाको मृत्यु भएको खबर आएको छ,’जिल्ला कलेक्टर गौरव सिंहले बीबीसीलाई भने । यस दुर्घटनामा एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । घाइते सबैलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार रायपुरको विधान सभा प्रहरी चौकी क्षेत्रको चटौड गाउँका करिब ५० जना खरोरा प्रहरी चौकी क्षेत्रको बाना गाउँमा पारिवारिक कार्यक्रममा गएका थिए । राति अबेर फर्कने क्रममा यो दुर्घटना भएको हो । दुर्घटनाका कारण रायपुर–खरौरा सडक लामो समयसम्म बन्द रहेको थियो ।