प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्ध थप बलियो बनाउनेछ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्ध थप बलियो बनाउने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय लगानी नेपालको हाइड्रोमा बढाउने, विद्युत व्यापारको मार्ग सिर्जना गर्नेसहितका विषयमा तयारी गरिएको बताए ।
उनले इन्दोर र उज्जैनको भ्रमण गरिने पनि जानकारी दिए । “भारतीय लगानी नेपालको हाइड्रोमा बढाउने, विद्युत व्यापारको मार्ग सिर्जना, बंगलादेशसँग व्यापार गर्न आधार तयार गर्ने, लङटम पावर डिल गर्न खोजिरहेका छौँ,” उनले भने ।
परराष्ट्रमन्त्री साउदले चीनसँग हुने व्यापार हिन्द प्रशान्त महासागरमार्फत हुने सन्धि गरिने बताए ।
कृषि उत्पादनलाई भारतीय बजारमा पुर्याउने, नेपाल–भारत ट्रेड ट्रिटी अद्यावधिक गर्ने विषयमा पनि छलफल हुने जानकारी दिए । कुल व्यापारको दुई तिहाइ व्यापार भारतसँग हुने उनको भनाइ छ ।
सिमरा नाका व्यस्त भएकाले वैकल्पिक नाकाका लागि सम्भाव्य नाकाको विषयमा छलफल भइरहेको उनको भनाइ छ । जसमा महेन्द्रनगर, भैरहवा र नेपालजञ्ज रहेको उनले बताए ।
उनले आईसीपीको उद्घाटन गर्ने र ड्राइपोर्टको शिलान्यास गरिने जानकारी दिए ।
भारतीय लाइन अफ क्रेडिटका आधारमा ट्रान्समिसन लाइन बढाएर विद्युत व्यापार बढाइने मन्त्री साउदले जानकारी दिए ।