सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल भएकोप्रति ओलीको आपत्ती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गर्नुभएको छ । औँठी लगाउने रुचिसमेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको पनि बताउनुभयो । उहाँले त्यो सत्यलाई बङ्ग्याएर आफ्नो सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताउनुभयो । आफूसँग भएको ज्ञान, कला र क्षमताको दुरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु देशका लागि दुःखको कुरा भएको उहाँको भनाइ छ ।
उहाँले इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्दै त्यसबाट जोगाउनका लागि चेतनाको बिगुल फुक्न पनि कलाकारहरूलाई आह्वान गर्नुभयो । अध्यक्ष ओलीले पार्टीमा प्रवेश गरेका कलाकारहरूलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताउनुभयो ।