गुणस्तरीय सामानको बजारीकरण उपमहानगरले गर्छ : नगरप्रमुख लामा

भूगाेल संवाददाता
१५ जेष्ठ २०८०, सोमबार १६:३९

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले महिला उद्यमीले उत्पादन गरेको गुणस्तरीय सामानको बजारीकरणमा उपमहानगरले सहयोग गर्ने बताउनुभयो ।

चालु अर्थिक बर्ष २०७९/०८० मा नगरका बिभिन्न वडाहरुमा उपमहानगरको आर्थिक सहयोगमा सञ्चालन भएको महिला उद्यमी बिकास तालिमबाट प्रशिक्षितहरु सहभागि उद्यमशिलता अभिमुखिकरण एवम् अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख लामाले दिगो आर्यआर्जनका लागि साना लगानीमा उत्पादन भएका गुणस्तरीय सामानको बजारीकरणका लागि चिन्ता नलिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो ‘सीप सिकेर काममा लाग्यौं, सामान बिक्री भएन भने के गर्ने भनेर चिन्ता नलिनुस्, बरु सीपलाई तिर्खार्दै गुणस्तरीय सामान उत्पादनमा लागे त्यस्तो सामानको बजारीकरणको जिम्मा उपमहानगरले लिन्छ ।’

उपमहानगरले बिषेश गरी महिलाहरुलाई आफ्नै चिनारी बनाउँनका लागि टोल टोलमा बिभिन्न तालिम आयोजना भइरहेको उहाँले बताउनुभयो । अरुले चिनाउँने होइन, आफै चिनिने वातबरण बनाउन उद्यममा लाग्नुपर्ने उहाँको भनाई थियो ।

हेटौंडा–१८ मा ११ जना महिला उद्यमी मार्फत उत्पादित ढाकालाई बजारीकरणकालागि सहयोग गरीरहेको उपमहानगरले राम्रो धागो खरीद र उत्पादनका लागि भन्दै आर्थिक सहयोग समेत गरेको छ । अहिले हेटौंडा–१० मा ढाकाको उत्पादन तालिम सञ्चालन भैरहेको छ ।
उपमहानगरको सहयोगमा तालिम लिएर उत्पादनमा लागेका महिला उद्यमीले उत्पादन गरेको सामग्रीको बजारीकरणका लागि उपमहानगरले काम गर्ने बताइएको छ । अहिले ढाकाको सामग्रीहरु सहित चप्पल, दालमोट, कृषिउपज, बेकरी, क्रिष्टलका माला, पोते सहितको समानको बजारीकरणका लागि कोशेली घरको प्रयोग गर्न भनिएको छ ।

अन्तरक्रिया कार्यक्रममा व्यवसायमा रहेका महिलाहरुले आफ्नो व्यवसायमा रहेका समस्याको बारेमा बताएका थिए । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा जालपादेवी महिला उद्यमी केन्द्रको आयोजनामा भएको कार्यक्रममा हेटौंडा ११ का अध्यक्ष जुना दाहाल, हेटौंडा उपमहानगरपालिका सहकारी तथा उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेल लगाएतकाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम उद्यमी केन्द्रका अध्यक्ष गिता मैनालीको अध्यक्षतामा भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*