सुदूरपश्चिमका प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिदै
सुदूरपश्चिम सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुहुन्छ ।
एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाउनु भएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
संविधान धारा १६८ को उपधारा २ बमोजिम एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख जोशीले उहाँलाई नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनीयताको शपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ ।
बिहीबारको प्रदेश सभा बैठकमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसक्नुभएको हो ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार विश्वासको मत पाउन नसकेर उहाँ पदमुक्त हुनुभएको हो ।
मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । तर, नागरिक उन्मुक्ति पार्टीका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री विश्वासको मत पाउन असफल हुुनुभएको हो ।
सुदूरपश्चिममा एक महिना नपुग्दै एमाले नेतृत्वको सरकार ढलेको हो ।