बन्दागोभी बिक्री नभएपछि बारीमै गाईबस्तु चराउदै दाङका किसान

भूगाेल संवाददाता
२४ जेष्ठ २०८०, बुधबार १२:३६

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका किसानहरुले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईबस्तु चराउन थालेका छन् ।

वडा नम्बर ११ मोतीपुरका किसानहरुले करिब सात बिगाहा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानहरुले दिनहुँ गाईबस्तु चराउने गरेका छन् ।

तुलसीपुर ११ मोतीपुरका किसान यज्ञबहादुर खत्रीले एक बिगाह क्षेत्रफलमा बन्दागोभी खेती गर्नुभएको छ । एक कठ्ठा जग्गामा १२ क्विन्टलसम्म बन्दागोभी उत्पादन भएको छ ।

खत्रीको मात्रै एक बिगाह जग्गामा दुई सय चालिस क्विन्टल बन्दागोभी उत्पादन भएको छ । खत्रीका अनुसार त्यस गाउँमा मात्रै करिब १४ सय क्विन्टल बन्दागोभी उत्पादन भएको छ ।

किसान खत्रीले उत्पादित बन्दागोभी बिक्री नभएपछि गाईबस्तु चराउन थालिएको बताउनुभयो । एक बिगाह क्षेत्रफलमा बन्दागोभी खेती गर्दा करिब एक लाख रुपियाँ लाग्ने गरेको पनि खत्रीले बताउनुभयो।

उहाँले बजार क्षेत्रसम्म लैजादा ढुवानी खर्च नै नउठ्ने अवस्था आएपछि गाईबस्तु चराउन थालिएको बताउनुभयो । बजारमा प्रति केजी पाँच रुपियाँ रहेको छ । यज्ञबहादुर मात्रै होइन यस क्षेत्रमा खेती गरेका सम्पूर्ण किसानहरुले समस्या उस्तै छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले किसानहरुले उत्पादन गरेको बस्तु बजारीकरणमा समस्या सिर्जना भएको भन्दै पालिकाकोतर्फबाट दुई वटा क्षेत्रमा हाटबजार स्थापनाका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो ।

उहाँले किसानहरुलाई पकेट क्षेत्र निर्धारण बेमौसमी तरकारी खेती उत्पादनका लागि प्रोत्साहन गरिने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले किसानहरुले उत्पादन गरेका बेमौसमी तरकारी बिक्री वितरण र मूल्यमा समस्या नभएपनि मौसमी तरकारी खेतीमा भने विगतदेखि नै मूल्य र बजारीकरणको समस्या रहेको बताउनुभयो ।