प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल नर्भिक अस्पताल भर्ना

भूगाेल संवाददाता
२९ जेष्ठ २०८०, सोमबार १६:५०

काठमाडौं । लामो समयदेखि अस्वस्थ रहेकी प्रधानमन्त्री पत्नी सीता दाहाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

नर्भिक अस्पतालमा आज दिउँसो भर्ना गरेर उपचार थालिएको हो । उपचारकै क्रममा रहेकी सीतालाई भेट्न प्रधानमन्त्री दाहाल नर्भिक अस्पताल पुगेका छन् ।

दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले सताएको छ । दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिने चिकित्सहरुले जनाएका छन् ।

यो रोग लागेका व्यक्तिलाई हिँडडुलमा समस्या पर्ने, बोल्न र निल्नसमेत कठिन हुने चिकित्सहरु बताउँछन् । यो रोगको संकेत पहिलेदेखि देखिएको भए पनि छोरा प्रकाश दाहालको निधनपछि झनै च्यापेको बताइएको छ । यसअघि सीताको उपचार भारत, सिंगापुरलगायतका देशमा पनि भइसकेको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारीअनुसार नियमित फलोअपका लागि सीतालाई नर्भिक लगिएको हो ।