बाढीका कारण अवरुद्ध सडक पुल निमार्ण कार्य आजैदेखि थालनी गछौं : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै शनिवार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यावाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजै देखि थालनी गरिने बताउनुभएको हो । उहाँले सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताउनु भयो। उहाँले बाढी पहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षती समेत भएको बताउनु भयो । मन्त्री ज्वालाले क्षती भएको हेवा खोलाको पुल भत्तकिएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि शुरुवात गरेको बताउनु भयो। उहाँले १० दिनभित्रमा बेलीब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको बताउनु भयो। उहाँले बाढीको कारण क्षती भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम,यान्त्रिक कार्यालय फिदिम,तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएको बताउनु भयो। उहाँले सडक विभागबाट आकस्मिक रुपमा काम गर्ने गरी बेलिब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको पनि बताउनु भयो।
मन्त्री ज्वालाले बेलीब्रिज नबेनसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुलाउने तयारी सरकारको रहेको बताउनु भयो । उहाँले वर्षायाम शुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएको जानकारी दिनुभयो ।