बढ्न थाल्यो अण्डाको मूल्य

लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिवारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को तीन सय ६० रुपैयाँ तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो ।
यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय रुपैयाँमा बिक्री हुँदै आएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट चार सय ३५ रुपैयाँ पर्न आउँछ ।
औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँको भनाइ छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा १६ रुपैयाँ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोेख्रेल बताउनुहुन्छ ।
हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताउनुभयो । अहिले नेपालमा दैनिक ४० लाख रुपैयाँ अण्डा उत्पादन हुँदै आएको छ। अण्डाको महत्त्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् । बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ ।
निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन् ।