स्पेनी क्लब काथेरेन्योले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

भूगाेल संवाददाता
७ पुष २०७९, बिहीबार १५:००

 

काठमाण्डाै ।  स्पेनी फुटबल क्लब काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । आज बिहीवार लुम्बिनी गार्डेन फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो ।

 

काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लब पनि हो । स्पेनी क्लबले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रङ्गशालामा गण्डकी–११ सँग मैत्रीपूर्ण फुटबल खेल्नेछ । गण्डकी–११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गर्नेछन् । गण्डकी–११ को प्रशिक्षण राजेन्द्र तामाङले गर्नेछन् ।

 

त्यस्तै काथेरेन्याे एफसीले पुस १४ गते काठमाण्डाैकाे दशरथ रङ्गशालामा काठमाण्डाै–११ सँग प्रतिस्पर्धा गर्नेछ । काठमाण्डाै–११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले गर्नेछन् । काठमाण्डाै–११ को प्रशिक्षण मेघराज केसीले गर्नेछन् ।

 

स्पेनी क्लब काथेरेन्योसँग स्पेनका पूर्व राष्ट्रिय खेलाडीसहित ला लिगा फुटबल क्लब रियल मड्रिड, बार्सिलोना र एथ्लेटिको मड्रिड जस्ता ठूला क्लबमा खेलेका अनुभवी खेलाडी रहेका छन् । नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्यसहित मैत्रीपूर्ण फुटबल खेलाउन लागेकाे आयोजकले जनाएको छ ।

 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा), कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित मैत्रीपूर्ण फुटबल आयाेजना हुन लागेकाे हाे । नेपाल भ्रमण गर्ने स्पेनी टोलीमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि छन् । विश्व कप फुटबल १९९० मा मोनोलो स्पेनी टिमको मुख्य खेलाडी थिए ।