हेटौंडा सिमेन्ट उद्योग करिब एक महिनापश्चान पुनः संचालनमा

भूगाेल संवाददाता
८ पुष २०७९, शुक्रबार १३:४१

बागमती प्रदेशको राजधानी हेटौंडास्थित सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग करिब एक महिनापश्चान पुनः संचालनमा आएको छ । उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर बन्द रहेको उक्त उद्योग बिहीबारबाट पुनः संचालनमा आएको हो ।

विद्युतीय उपकरणको पाठपूर्जाहरु बाहिरबाट खरिद ल्याई जडान गरिएको र सो उद्योगमा रहेको केही उपकरणहरुको पनि मर्मत सम्हार पूरा गरी पुनः सिमेन्ट उत्पादन संचालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नबिन कुमार कर्णले जानकारी दिए ।

नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्टले वि.सं. २०४३ साल मंसिरबाट व्यवसायीक रुपमा उत्पादन सुरु गरिँदै आएको थियो । उद्योगमा दैनिक ११० टन कोइला खपत हुने गरेको छ । उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ ।