कारागारमा रहेका पूर्वगृहमन्त्री खाँणलाई भेट्न पुगे परराष्ट्रमन्त्री साउद

भूगाेल संवाददाता
८ असार २०८०, शुक्रबार १०:५५

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेटेका छन् । खाँणलाई भेट्न मन्त्री साउद केन्द्रीय कारागार, सुन्धारा पुगेका हुन् ।

बिहीबार बिहान १० बजे कारागार पुगेर करिब आधा घन्टा साउदले खाँणसँग भेटघाट गरेको कारागार प्रशासनले स्रोतले बतायो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

बिहीबारै कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दाम्बे र महेन्द्र यादवले पनि खाँणसँग भेट गरेका छन् । बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि खाँणलाई भेटेका थिए ।

भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।