ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु

काठमाडौं। ललितपुरमा बिजुलीको पोलले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकै ५५ वर्षीय रमेश शाही रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले अनलाइनखबरलाई बताए । उनका अनुसार, डोजरले बाटो खन्ने क्रममा पोलले लागेर उनको मृत्यु भएको हो । प्र. ३–०१ ००३ क ६७४२ नम्बरको जेसिपिले विद्युत्को पोल अडाउने र सार्ने काम गर्ने क्रममा ढलेको थियो । शाही बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए । सो क्रममा विद्युत्को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको मृत्यु भएपछि स्थानीयहरूले ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । अहिले प्रहरी वृत्त सातदोबाटोमा विद्युत् प्राधिकरणका प्रतिनिधि, ठेकेदार, मृतकका आफन्तसहित छलफल भइरहेको छ ।