वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

भूगाेल संवाददाता
२३ जेष्ठ २०८२, बिहीबार १०:५२

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–५ बस्ने महोत्तरी गौशाला नगरपालिका–१२ कान्ति बजार घर भएका ५५ वर्षीय बिर बहादुर घिसिङ र काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका ३९ वर्षीय दिनेश खड्का रहेका छन् । पक्राउ मध्ये बिर बहादुरले नर्वे र डेनमार्क पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट पाँच लाख १० हजार रुपैयाँ र दिनेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मङ्गलवार बिर बहादुरलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट र दिनेशलाई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।