सोनाम ल्होछारका दिन राक्सिराङमा सार्वजनिक विदा

भूगाेल संवाददाता
२ माघ २०८२, बिहीबार १८:००

मकवानपुर । तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रुपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा आगामी माघ ४ र ५ गते दुई दिन सार्वजनिक विदा दिने पालिकाले निर्णय गरेको हो । सार्वजनिक विदामा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघ–संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने उल्लेख छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी सूचनामा पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा जातीय विविधतायुक्त राक्सिराङ गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र मातृत्व कायम गर्ने अपेक्षासहित बन्धुत्व, प्रेम र समताको भावना अभिवृद्धि गरी शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।