अँध्यारोबाट उज्यालोतर्फ देउजर र गढनसिर- पहिलोपटक बिजुली

भूगाेल संवाददाता
१४ माघ २०८२, मंगलवार २१:३८

पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका विकट बस्ती देउजर र गढनसिरमा पहिलोपटक विद्युत् सेवा पुगेको छ। मंगलबार गाउँपालिका अध्यक्ष सर्केश घलानले रिबन काटेर औपचारिक रूपमा बिजुली बालेपछि वर्षौंदेखिको अँध्यारो अन्त्य भएको छ।

यसअघि साँझ परेसँगै अन्धकारमा डुब्ने बस्तीमा अहिले बल्बको उज्यालो फैलिएको छ। मोबाइल चार्ज गर्न टाढा जानुपर्ने बाध्यता हटेको छ भने बालबालिकाले उज्यालो कोठामै बसेर पढ्न पाउने भएका छन्। विद्युत् पुगेपछि स्थानीयको दैनिक जीवनशैलीमै सकारात्मक परिवर्तन आएको छ।

बागमती गाउँपालिका–३ अन्तर्गत पर्ने देउजरका ६२ घरधुरी र गढनसिरका १७ घरधुरीमा विद्युत् लाइन विस्तार गरिएको हो। नेपाल विद्युत् प्राधिकरणले आवश्यक पोल, तार तथा ट्रान्सफर्मर उपलब्ध गराएको छ भने गाउँपालिकाले पूर्वाधार व्यवस्थापन तथा समन्वय गरेको जनाएको छ।

खोल्सा, भीर र दुर्गम भूगोलका कारण लामो समयदेखि रोकिएको योजना यस वर्ष स्थानीयको सक्रिय श्रमदान, गाउँपालिकाको लगानी र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा सम्पन्न भएको हो। स्थानीय बासिन्दाले पोल बोकेर उकालो–ओरालो गर्दै काममा प्रत्यक्ष सहभागिता जनाएका थिए।

गाउँपालिका अध्यक्ष सर्केश घलानले विकट र विपन्न समुदायलाई प्राथमिकतामा राखेर विकास कार्यक्रम अघि बढाइएको बताए। उनले विद्युत् विस्तारले शिक्षा, स्वास्थ्य सेवा र स्थानीय आर्थिक गतिविधिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

स्थानीय बासिन्दा दिलबहादुर पाख्रिनले बिजुली पुगेपछि गाउँमै भविष्य देख्न थालेको बताए। “पहिले अँध्यारो र अभावले गाउँ छोड्नुपर्ने अवस्था थियो, अब उज्यालोसँगै आशा पनि आएको छ,” उनले भने।