मकवानपुरगढीमा २६३औँ ऐतिहासिक विजय उत्सव भव्यताका साथ मनाईयो

भूगाेल संवाददाता
१३ माघ २०८२, सोमबार ०६:३०

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अवस्थित ऐतिहासिक मकवानपुरगढी दरबारमा २६३औँ विजय उत्सव भव्य रूपमा मनाइएको छ। वि.सं. १८१९ माघ १० गते गुर्गिन खाँको नेतृत्वमा आएको बङ्गाली सेनामाथि गोर्खाली फौजले प्राप्त गरेको ऐतिहासिक विजयको सम्झनामा हरेक वर्षझैँ यस वर्ष पनि उत्सव आयोजना गरिएको हो।

मकवानपुरगढी गाउँपालिका–२ को आयोजनामा दरबार परिसरमा विशेष कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए भने सुपारेटार ब्यारेकस्थित गोरख बहादुर गणको टोलीले सलामी अर्पण गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले २६३ वर्ष बितिसक्दा पनि मकवानपुरगढी दरबारको संरक्षण र विकास अपेक्षाअनुसार अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनले ऐतिहासिक गढीमा रहेका पुरातात्त्विक सामग्रीहरूको उत्खनन गरी सङ्ग्रहालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसले पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। “स्थानीय तहले पहल गरोस्, आगामी बजेटमा यसका लागि आवश्यक सम्बोधन गर्नेछु,” मन्त्री अधिकारीले आश्वासन दिए।

उनले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ मकवानपुरकै स्थायी बासिन्दा भएकाले गढी विकासमा प्रदेश सरकारबाट सहकार्य हुने विश्वाससमेत व्यक्त गरे। साथै, स्थानीय जनप्रतिनिधिको सक्रियता प्रशंसनीय रहेको भन्दै गढी संरक्षणमा सबै तह मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ऐतिहासिक किल्लाहरूमा स्थानीय तहको अधिकार सीमित रहेको उल्लेख गर्दै प्रदेश र सङ्घीय सरकारले स्पष्ट गुरुयोजना बनाएर सहयोग गर्नुपर्ने बताए। उनले पालिकाले आफ्ना तर्फबाट दरबारको संरक्षण र प्रवर्द्धनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मध्य पृतना हेडक्वार्टर हेटौँडाका महासेनानी राजेन्द्र सापकोटा, गोरख बहादुर गण सुपारेटार ब्यारेकका प्रमुख सेनानी निरञ्जन धामी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने लगायतको उपस्थिति थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, टोल विकास संस्था प्रतिनिधि र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

उत्सवका अवसरमा मकवानपुरगढी गाउँपालिकाको विकासमा योगदान पुर्‍याएका पूर्वजनप्रतिनिधि हर्कमाया रुम्बा, शिवप्रसाद न्यौपाने र रामप्रसाद पुडासैनीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। साथै, १३ वटा टोल विकास संस्था र मकवानपुरगढी नौमती बाजा टोलीलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ।

कार्यक्रममा मकवानपुरगढी दरबारका ऐतिहासिक हातहतियार तथा तोपगोलाहरू हाल अज्ञात अवस्थामा रहेको विषय उठाइएको थियो। ती पुरातात्त्विक सामग्री खोजी गरी यथास्थानमा व्यवस्थापन गर्न नेपाली सेनासँग समन्वय आवश्यक रहेको जनप्रतिनिधिहरूले माग गरेका छन्।