किराँत समुदायले आज उभौली पर्व मनाउदै

भूगाेल संवाददाता
२२ बैशाख २०८०, शुक्रबार ०८:३५

काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत, राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरी उभौली पर्व मना‍उने गरिन्छ ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दुमी राईले जानकारी दिनुभयो । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ भने किराँत समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरिएको छ ।