अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा हेटौँडामा घुससहित अधिकृत र बिचौलिया पक्राउ

भूगाेल संवाददाता
१३ फाल्गुन २०८२, बुधबार ०६:१०

मकवानपुरको हेटौँडामा घुस प्रकरण सार्वजनिक भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालयका एक अधिकृत र एक बिचौलियालाई नगदसहित नियन्त्रणमा लिएको हो।

सवारी सरुवा सहमतिसम्बन्धी काम मिलाइदिने भन्दै सेवाग्राहीसँग रकम माग भइरहेको गोप्य सूचनापछि अख्तियारको टोली सक्रिय भएको थियो। निगरानीका क्रममा छैटौँ तहका अधिकृत अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई रङ्गेहात पक्राउ गरिएको जनाइएको छ।

हेटौँडा उपमहानगरपालिका–११ स्थित कार्यालय परिसरबाटै पौडेलले ११ हजार ५ सय रुपैयाँ लिइसकेको अवस्थामा दुवै जनालाई समातिएको हो। पक्राउका बेला उनीहरूको साथबाट तीन थान मोबाइल सेट समेत बरामद भएको अख्तियारले जनाएको छ।

सेवाग्राहीको काम छिटो गरिदिने बहानामा रकम लेनदेन भइरहेको उजुरी परेपछि आयोगले केही समयदेखि उनीहरूमाथि निगरानी बढाएको थियो। हाल दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।