१८औँ वार्षिकोत्सव : रेडियो थाहा सञ्चारद्वारा बजार सरसफाई अभियान

भूगाेल संवाददाता
१ फाल्गुन २०८२, शुक्रबार १२:५८

मकवानपुरको हेटौँडामा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जले आफ्नो १८औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन हेटौँडा–१ स्थित फलफूल तथा तरकारी बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिएको हो।

रेडियोका सञ्चालक अरुणराज सुमार्गीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपाने प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानेले सरसफाईलाई मानव जीवनको आधारभूत आवश्यकतासँग जोड्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। उनले फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा रेडियो थाहाका सञ्चालक सुमार्गीले रेडियो र थाहा आन्दोलनका अभियन्ता रुपचन्द्र विष्टबीचको सम्बन्ध स्मरण गर्दै सामाजिक परिवर्तनका पक्षमा रेडियो निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

राजन अनुरागले सञ्चालन गरेको कार्यक्रममा आरती अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्। स्टेशन म्यानेजर गोकुल अधिकारीले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि आयोजना गरिने जानकारी दिए। उनका अनुसार मैत्रीपूर्ण फुटबल प्रतियोगिता, थाहा दर्शन कार्यक्रम, स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण, बाल साहित्य कार्यक्रम तथा थाहा वर्ष सम्मान समारोह लगायतका कार्यक्रम तय गरिएका छन्।

कार्यक्रममा नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद हुमागाई, टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुव अधिकारी, ग्रीन एण्ड क्लिन सिटी सर्भिसेज प्रालिका नवराज खतिवडा, शहरी स्वास्थ्य केन्द्र नकौलीकी प्रतिनिधि प्रतिष्ठा कार्की लगायत स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तरकारी व्यवसाय र सरसफाई व्यवस्थापनमा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

रेडियो थाहा सञ्चारले विगत १८ वर्षदेखि समाचार, विचार र मनोरञ्जनका माध्यमबाट समाजका आवाजविहीन वर्गको आवाज बुलन्द गर्दै आएको जनाएको छ।