मकवानपुरमा चुनावी ‘डिजिटल दौड’ तीव्र: घरदैलो सँगसँगै सामाजिक सञ्जालमा उम्मेदवारको प्रतिस्पर्धा
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुरका दुवै निर्वाचन क्षेत्र चुनावी माहोलले तातेका छन्। परम्परागत घरदैलो, आमसभा र भेटघाटसँगै यसपटक सामाजिक सञ्जाल चुनावी अभियानको मुख्य रणभूमि बनेको छ। उम्मेदवारहरू मतदातासम्म छिटो र प्रभावकारी रूपमा पुग्न फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्युटरजस्ता प्लेटफर्मको व्यापक प्रयोगमा जुटेका छन्।
जिल्लाको क्षेत्र नम्बर १ र २ गरी कुल ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। अधिकांश उम्मेदवारले घरदैलो अभियानका तस्बिर, भिडियो सन्देश, घोषणापत्रका अंश तथा आफ्ना प्रतिबद्धता डिजिटल माध्यमबाट सार्वजनिक गरिरहेका छन्।
विशेषगरी युवा मतदातालाई लक्षित गर्दै छोटा भिडियो सन्देश, लाइभ संवाद र प्रायोजित पोस्टमार्फत प्रचारलाई तीव्र बनाइएको छ। कम खर्चमा धेरै मतदातासम्म पुग्न सकिने भएकाले सामाजिक सञ्जाललाई प्रभावकारी माध्यमका रूपमा लिइएको देखिन्छ।
क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपा एमालेका रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, राप्रपाका दीपकबहादुर सिंह, रास्वपाका प्रकाश गौतम, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ महर्जनलगायतका उम्मेदवार डिजिटल प्रचारमा सक्रिय छन्। उनीहरूले पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र शिक्षा–स्वास्थ्य सुधारलाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिरहेका छन्।
त्यस्तै, क्षेत्र नम्बर–२ मा कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला, रास्वपाका प्रशान्त उप्रेती, राप्रपाका रामबहादुर थोकरलगायतका उम्मेदवारले दैनिक कार्यक्रम, आमसभा, भेटघाट र समर्थकसँगको अन्तरक्रियालाई नियमित रूपमा सामाजिक सञ्जालमा अपडेट गरिरहेका छन्। केही उम्मेदवारले आफ्नो पहुँच विस्तार गर्न पेड पोस्टको प्रयोगसमेत गरिरहेका छन्।
शहर तथा अर्धशहरी क्षेत्रका मतदातामा डिजिटल प्रचारको प्रभाव उल्लेख्य देखिए पनि ग्रामीण भेगमा भने परम्परागत शैली अझै प्रभावकारी मानिन्छ। यसपटक मकवानपुरमा घरदैलो र सामाजिक सञ्जाल दुवै माध्यमबीचको प्रतिस्पर्धा रोचक बनेको छ।
चुनावी परिणामले नै सामाजिक सञ्जालको यो सक्रियताले मतदाताको निर्णय प्रक्रियामा कत्तिको प्रभाव पार्यो भन्ने स्पष्ट पार्नेछ। अहिलेका लागि भने मकवानपुरमा ‘डिजिटल चुनाव’ को रफ्तार तीव्र बनेको देखिन्छ।


