नेपाल शिक्षक संघ मकवानपुरको २४औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न, उत्कृष्ट शिक्षक र विद्यालय सम्मानित
हेटौंडा — नेपाल शिक्षक संघ मकवानपुरको २४औँ जिल्ला प्रतिनिधि सभा शनिबार हेटौंडामा भव्य रूपमा सम्पन्न भएको छ। संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष सुन्तर पन्त प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा संघका सचिव श्रीराम लुइँटेलले संगठनको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव (अर्थ) धनबहादुर लामाले आर्थिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनहरूमाथि सहभागी प्रतिनिधिहरूले चासोका साथ छलफल गरेका थिए।
प्रतिनिधि सभामा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जन प्रसाद चौलागाईं, महासमिति सदस्य दिनेश उपाध्याय, नेपाल शिक्षक संघ मकवानपुरका सल्लाहकार रामकुमार अधिकारी, बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला, स्वेता कोइराला लगायतको उपस्थिति रहेको थियो। जिल्लाका दशवटै स्थानीय तहका शिक्षक संघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता कार्यक्रमको विशेष आकर्षण बनेको थियो।
कार्यक्रमको अवसरमा उत्कृष्ट पालिका अन्तर्गत भीमफेदी गाउँ कार्यसमितिसँगै प्रावि, निमावि र मावि प्रधानाध्यापक तर्फ क्रमशः थाहा नगरपालिकाकी कुमारी आसचन्द, बकैया गाउँपालिकाका सिमोन आले मगर र मनहरी गाउँपालिकाका अर्जुन पण्डितलाई सम्मान गरिएको थियो।
त्यसैगरी उत्कृष्ट विद्यालय तर्फ प्रावि, निमावि र मावि अन्तर्गत क्रमशः कैलाश गाउँपालिका स्थित सुन्दरीदेवी प्रावि, राक्सिराङ गाउँपालिका स्थित वागेश्वरी आवि र हेटौंडा उपमहानगरपालिका स्थित निर्मल माविलाई सम्मानित गरिएको थियो।
कार्यक्रममा नेपाल शिक्षक संघ मकवानपुरको कार्यालय सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराउने शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुवासचन्द्र कडेल र शिक्षक महासंघ मकवानपुरका निवर्तमान संस्थागत सहसचिव जनक घिताललाई कदर पत्र प्रदान गरिएको आयोजकले जनाएको छ।


