पूर्वप्रधानाध्यापक तुलसी थापाको स्मृतिमा कृष्ण माविमा ३ लाखको अक्षयकोष
हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित कृष्ण माध्यमिक विद्यालयमा पूर्वप्रधानाध्यापक स्वर्गीय तुलसी थापाको स्मृतिमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। विद्यालयको शैक्षिक उन्नति र विद्यार्थी प्रोत्साहनलाई लक्षित गर्दै थापाको परिवारको सहयोगमा उक्त अक्षयकोष स्थापना गरिएको हो।
सोमबार आयोजित कार्यक्रममा स्व. थापाकी बहिनी बेली थापाले अक्षयकोषको रकम वडा नम्बर २ का वडा अदालत सदस्यसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासीराम बज्युलाई हस्तान्तरण गर्नुभएको हो। अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालयका विद्यार्थीलाई शैक्षिक प्रोत्साहनका लागि खर्च गरिने अध्यक्ष बज्युले जानकारी दिनुभयो।
विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण पौडेलका अनुसार अक्षयकोषबाट प्राप्त आम्दानी एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गर्न प्रयोग गरिनेछ। यस वर्ष कृष्ण माध्यमिक विद्यालयबाट ३२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।
एसईई परीक्षालाई लक्षित गर्दै विद्यालयले हाल विद्यार्थीलाई विद्यालयमै खाने व्यवस्थासहित विशेष पठनपाठन गराइरहेको छ। साथै, मंसिर महिनादेखि आवासीय सुविधासहित पठनपाठन सञ्चालन हुँदै आएको र यसका लागि वडा कार्यालयबाट ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको सहायक प्रधानाध्यापक पौडेलले बताउनुभयो।
कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा हाल करिब ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीलाई थप हौसला प्रदान गर्न अक्षयकोषले महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।


