मकवानपुरमा निर्वाचनपूर्व मतदानस्थलको व्यापक अनुगमन: सुरक्षा र पूर्वतयारीमा जोड
हेटौंडा – मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रका नौ स्थानीय तहमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन मतदानस्थलहरूको स्थलगत अनुगमन गरिएको छ। जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय र अन्य जिम्मेवार अधिकारीहरूको संयुक्त टोलीले मतदान स्थलको भौतिक अवस्था, सुरक्षा व्यवस्थापन, पहुँच मार्ग र मतदान कक्षको तयारी जाँच गरेको छ।
अनुगमन टोलीले हालसम्म हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, बागमती, भिमफेदी, राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउँपालिकाका मतदान स्थलको निरीक्षण गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार जिल्लाका अधिकांश मतदान स्थलमा पहुँच सहज छ भने भीमफेदीको एउटा स्थलमा मात्र यातायातको पहुँच नभएर पैदल जानुपर्ने समस्या छ।
जिल्लाभर १६७ मतदानस्थल रहेकोमा सुरक्षा दृष्टिकोणले १९ स्थल अति संवेदनशील, ६० स्थल संवेदनशील र ८८ स्थल सामान्य श्रेणीमा राखिएको छ। अति संवेदनशील मतदानस्थलमा बकैया गाउँपालिकाका ५ स्थल र ७ मतदान केन्द्र, राक्सिराङ ६ स्थल र ६ केन्द्र, बागमती ५ स्थल र ६ केन्द्र, भीमफेदी १ स्थल र ३ केन्द्र, मनहरी १ स्थल र ३ केन्द्र तथा कैलाश १ स्थल र १ केन्द्र रहेका छन्।
सर्वसाधारण मतदान सहज र सुरक्षित गर्न जिल्ला सुरक्षा समिति, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले स्थलगत अनुगमनका साथै स्थानीय जनप्रतिनिधि र समुदायसँग छलफल गरी सुरक्षा व्यवस्थालाई सुनिश्चित गरिरहेको छ। मकवानपुरमा दुई निर्वाचन क्षेत्रका ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्।


