हेटौँडामा चेकजाँचका क्रममा २ किलो अफिमसहित दुई जना पक्राउ

भूगाेल संवाददाता
२७ माघ २०८२, सोमबार ०८:००

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाका आधारमा हेटौँडामा चेकजाँच गर्ने क्रममा २ किलो प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङस्थित सडकमा नियमित चेकजाँच भइरहेको बेला ना.४५ प.६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद देखी रोकी खानतलासी गरिएको थियो। सो क्रममा उनीहरूको साथबाट अफिम जस्तो देखिने करिब २ किलो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ निवासी २८ वर्षीय रबिन्द्र सिन्तान र सोही स्थानका ३६ वर्षीय रामबहादुर डिम्डुङ रहेका छन्।

बरामद लागूऔषध र प्रयोगमा ल्याइएको मोटरसाइकल जफत गरी दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट म्याद अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।