काठमाडौं–तराई मधेस द्रुतमार्गमा टुचन मेसिन ब्रेकफेल हुँदा एक जनाको मृत्यु
मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाडास्थित निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्गमा मंगलबार साँझ दुखद दुर्घटना भएको छ। खाडल खन्ने काम सकेर टुचन मेसिनमार्फत माथि फर्किंदै गर्दा मेसिनको ब्रेक अचानक फेल भई करिब २१ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको छ। उनी उक्त आयोजनामा कार्यरत थिए।
सोही क्रममा खाडलभित्र रहेका पाँचपोखरी थाङपाल–६ का ३७ वर्षीय जुल्फे तामाङ मेसिनले ढाडमा लागेर घाइते भएका छन्। घाइते तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम छ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक राजन थापाको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान थालेको छ। थप अनुसन्धानका लागि बुधबार बिहान प्रहरी निरीक्षकको कमाण्डमा अर्को टोली खटिने जनाइएको छ।


