पोखराबाट काठमाडौं जाँदै गरेको बस धादिङमा दुर्घटनाग्रस्त, २० को ज्यान गयो
धादिङ, आइतबार राति धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग मा यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार १७ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा ज्यान गएको हो। पोखराबाट ३४ जना यात्रु बोकेर आइतबार बेलुका ७ बजे छुटेको ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको बस त्रिशूली नदी किनारमा खसेको थियो।
घाइतेहरूको काठमाडौंस्थित ट्रमा सेन्टरसहित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बस चालक सुजित नेपालीको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ।
बस तनहुँको जामुने निवासी ओमकुमार श्रेष्ठको रहेको र उनी पनि बसमा सवार रहेको जानकारी प्राप्त भएको छ।
यस घटनाप्रति धनराज आचार्य ले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयवासीलाई धन्यवाद दिएका छन्।
दुर्घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

