मकवानपुरमा चुनावी प्रचारमा फरक: ठूला आमसभाभन्दा घरदैलोमा जोड
हेटौँडा। विगतका निर्वाचनमा मकवानपुरमा ठूला मञ्च, तडकभडक र शीर्ष नेतासहितका आमसभा चुनावी प्रचारका मुख्य आकर्षण बन्थे। बजार केन्द्रित भेला र लामो भाषणमार्फत मत माग्ने चलन प्रबल थियो।
तर यसपटक चुनावी दृश्यमा स्पष्ट फरक देखिएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ र २ का उम्मेदवारहरू भव्य आमसभाभन्दा मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमा केन्द्रित भएका छन्। टोल–टोलमा साना समूहमा छलफल, व्यक्तिगत भेटघाट र मतदाताका गुनासा सुन्ने अभ्यास बढेको छ।
अघिल्ला निर्वाचनमा भाषणमुखी प्रचार प्रभावकारी मानिन्थ्यो भने अहिले प्रत्यक्ष संवादलाई प्राथमिकता दिइएको छ। उम्मेदवारहरूका अनुसार घरदैलो अभियानले सम्बन्ध मजबुत बनाउने, भ्रम हटाउने र आफ्ना एजेन्डा स्पष्ट पार्ने अवसर दिन्छ।
कतिपयले मोटरसाइकल र्याली र सीमित आमसभा आयोजना गर्ने तयारी गरे पनि समग्र प्रचार शैली यसपटक शान्त, सघन र मतदाता केन्द्रित बनेको छ।
निर्वाचन क्षेत्र नं. १ मा २३ र क्षेत्र नं. २ मा २१ उम्मेदवार प्रतिस्पर्धामा छन्। विगतको तडकभडकको तुलनामा यसपटक विश्वास जित्ने प्रत्यक्ष रणनीति नै चुनावी माहोलको मुख्य विशेषता बनेको छ।

