मकवानपुरमा मोटरसाइकल नालामा खस्दा, एक जनाको मृत्यु

भूगाेल संवाददाता
१२ फाल्गुन २०८२, मंगलवार १०:२७

मकवानपुर जिल्लाको बागमती गाउँपालिका–८ तल्लो भवानी स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गएराति भएको दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। फापरबारीबाट हात्तिसुडे तर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको नालामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका–८ बस्तिपुर निवासी करिब ४० वर्षीय प्रेमबहादुर गोले गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल हेटौडा अस्पतालमा लगिएको थियो। अस्पताल पुर्‍याइएको केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।