बचतकर्ताको ५ करोड ठगेर सहकारी अध्यक्षसहित ७ जना फरार

भूगाेल संवाददाता
२१ श्रावण २०८२, मंगलवार १२:४७

काठमाडौं। बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ ठगी गरेर एक सहकारीका सञ्चालक समितिका सबै पदाधिकारीहरु फरार भएका छन् । काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु फरार भएका छन् । फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा र सदस्य ३८ वर्षीय रोहित खड्का छन् ।

लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो । २६ माघ २०८० मा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता भएको थियो । लामो समयसम्म खोजी गर्दा पनि उनीहरु फेला नपरेपछि फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिस काठमाडौंका एक अधिकृतले बताए । पछि यो सहकारीविरुद्ध थप जाहेरी आएपछि अनुसन्धान गर्दा अरु पाँच करोड रुपैयाँ अपचलन भएको पाइएको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ ।

उनीहरूले १५ बचतकर्ताको चार करोड ८० लाख २३ हजार २८६ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । सुरेशकुमार पौदार नाम गरेका एक बचतकर्ताको १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको आरोप छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को ठगी गर्न नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर भएको छ । जसअनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अनुसन्धान अधिकारीहरुको अनुसार बचकर्ताको रकम उनीहरुले बाँडफाँड गरी बिना धितो ऋण भन्दै लगेर नतिरी फरार भएका हुन् ।