३८ हजार नक्कली नोटसहित २ जना पक्राउ

भूगाेल संवाददाता
२२ श्रावण २०८२, बुधबार १०:२८

काठमाडौँ। नक्कली नोटसहित प्रहरीले सुनसरीबाट २ जना पक्राउ गरेको छ । भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरु लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रूपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको हो । बरामद भएको ३८ हजार नेपाली नक्कली नोटसहित दुवै जनामाथि अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकरी दिए ।