मकवानपुरमा एक पुरुष मृत फेला

हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । यही साउन २२ गतेबाट बेपत्ता भएका कैलाश गाउँपालिका–९, स्कुलडाँडा बस्ने ४६ वर्षीया मानबहादुर प्रजा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्याललका अनुसार, घरबाट आफू खुसी कोही कसैलाई नसोधी हिँडेकोमा आफन्त नातागोता तथा छरछिमेक समेतमा खोजतलास गर्दा कहीँकतै फेला नपरेकोमा आइतबार मृत अवस्थामा फेला परेका हुन् । उनी कैलाश–९ स्थित घर भन्दा करिब एक किलोमिटर दक्षिणतर्फ रहेको मनहरी खोलाबाट पानीघट्ट चलाउनका लागि लगिएको कुलोमा मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । घटनाको विषयमा आवश्यक कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको अर्यालले बताए । घटनाको विषयमा थप अनुसन्धान अघि बढाइएको छ ।