ताप्लेजुङको मेहेलेमा पहिरो जाँदा बाबुछोराको ज्यान गयो , एकजना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गएको छ । एक जना घाइते भएका छन् । पहिरोमा परि केशरबहादुर राई र उहाँका छोरा सुरेश राईको ज्यान गएको हो । यस्तै, राजकुमार राई घाइते हुनुभएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।
पहिरोमा बेपत्ता हुनुभएका केशरबहादुर मृत भेटिनुभएको र घाइते हुनुभएका सुरेशको उपचार लागि लैजाँदै गर्दा ज्यान गएको हो । घाइते राजकुमारलाई उपचारका लागि अस्पताल लैजान समस्या भइरहेको लिम्बूले बताउनु भयो।
यस्तै, शनिवार राति गएको पहिरोमा परि बेपत्ता मेहेलेका एकै घरका तीन जना अझै सम्पर्कविहीन छन् । मेहेले भालुखोपका भगिमायाँ बुढाक्षेत्री, उहाँकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ज्वल बुढाक्षेत्री पहिरोमा बेपत्ता भएका हुन्। निरन्तर वर्षा भइरहेका कारण बेपत्ताहरुको खोजी गर्न समस्या भएको लिम्बूले बताउनुभयो । पहिरोमा बेपत्ता भएका मेहेले भालुखोपका गणेश तामाङको भने शव फेला परिसकेको छ ।
मेहेलेमा शनिवार बेलुकादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन ।